मध्यपुर थिमि नगरपालिका वडा न २ सानोथिमि आर्मी ब्यारेक ओरालो स्थित ऐतिहासिक सोरहा हिटी अर्थात तीनधाराको पुन निर्माण सम्पन्न भएको छ । करिब ३०० बर्ष पुरानो रहेको उक्त तीन ढुङ्गेधार २०७८ साल असोज २४ गते एक औपचारीक कार्यक्रमका बिच निर्माण सम्पन्न भएको अवशरमा उदघाटन गरीएको छ ।


मध्यपुर थिमि नगरपालिकाको रू ३० लाखको आर्थिक सहयोगमा उक्त सोरहा हिटीको मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख अन्जना देबी मधिकर्मीले उदघाटन गर्नु भएको हो । सोराह हिती मध्यपुर थिमि नगरपालिका वडा न २ र वडा न ७ को सिमाना सानोथिमि ओरालोमा अवस्थित छ ।

कुनै समय बढ्दो शहरीकरणले पानीको मुहान नसुक्दा सम्म नित्य निरन्तर चौबिसै घण्टा पानी आउने गरेको सोरहा हिटी स्थानीय हरुले लुगा धुन र पिउने पानीको प्रयोजनका लागि प्रयोग हुँदै आएकोमा पछिल्लो २० बर्ष देखि भने जिर्ण अवस्थामा रहदै आएको थियो ।

स्थानीय सम्पदा प्रेमी युवा निरज बाडेको नेतृत्वमा करिब दुई बर्ष अगाडी ती धाराहरूको उत्खनन गरिएको थियो । त्यस पश्चात भने निरज बाडेको अध्यक्षतामा गठीत उपभोक्ता समितिले करिब दुई बर्षको समय अवधिमा उक्त सोरहा हिटीको अहीले पुन निर्माण कार्य सम्पन्न गरेको हो ।

उदघाटन कार्यक्रम मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख अन्जना देबी मधिकर्मीको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको थियो भने वडा न ७ का वडा अध्यक्ष कृष्ण कुमार प्रजापति, वडा न २ का वडा अध्यक्ष राम थापा मगर, वडा न ७ का नगर सदस्य तथा कार्यपालिका सदस्य सुजाता बैद्य र वडा न २ का वडा सदस्य बिदुर भट्टराईको उपस्थिति थियो भने कार्यक्रमको सभापतित्व उपभोक्ता समितिका अध्यक्ष निरज बाडेले गर्नुभएको थियो ।

कार्यक्रममा बोल्नु हुँदै मध्यपुर थिमि नगरपालिका उपप्रमुख तथा प्रमुख अतिथि अन्जना देबी मधिकर्मीले नगरपालिकाले ऐतिहासिक सोरहा हिटीको मौलिक संरचना कायम हुनेगरी निर्माण सम्पन्न गरीएको बताउनु भयो । जनताले तिरेको करबाट निर्माण हुने यस्ता सम्पदाहरू पुननिर्माण गर्न जनता र उपभोक्ता स्वयम सक्रिय र जागरूक भएर लाग्नु पर्ने बताउनु भयो ।
वडा न ७ का वडा अध्यक्ष कृष्ण कुमार प्रजापतिले सोरहा हिटीको संस्कृतिक र ऐतिहासिक महत्वको चर्चा गर्नु हुदै सोरहा हिटी लाई अझै थप आकर्षक बनाउन सोरहा हिटीको छेउमा अवस्थित सार्वजनिक खाली जमिनमा फोहर फाल्न नदिन र सोहरा हिटीको सौर्न्दय र महत्व बढाउन स्मारक वा पार्क बनाउन तथा सुरक्षित बनाउन हिटीको छेउछेउबाट बार लगाउनुपर्ने बताउनु भयो ।

वडा न २ का वडा अध्यक्ष राम थापा मगरले पुर्खाले छोडेर गएको सोरहा हिटीको संरक्षण हुन सकेकोमा खुशी व्यक्त गर्नु हुँदै आफुले आगामि दिनमा थप संरक्षण गर्न आवश्यक रहेको खण्डमा उपभोक्ता समिति मार्फत आफु सदा सहयोग गर्न तत्पर रहेको बताउनु भयो ।
कार्यक्रमको सभापति तथा उपभोक्ता समिति अध्यक्ष निरज बाडेले सोरहा हिटी पुननिर्माण गर्न सुरुवाती चरण देखि दिलोज्यान दिएर लागेका सम्पूर्ण सहयोगि हातहरू र नगरपालिका लाई पुननिर्माण सम्पन्न गर्न गरेको सहयोगको लागि हार्दिक धन्यबाद ज्ञापन गर्नुभयो ।


