काठमाडौँ, २१ असार । नेवाः पत्रकार राष्ट्रिय दबूले ‘मातृभाषा पत्रकारिता दिवस’ लाई राष्ट्रिय दिवसका रुपमा मनाउन माग गरेको छ ।
दबूको आयोजनामा मंगलबार भएको दोस्रो मातृभाषा पत्रकारिता राष्ट्रिय सम्मेलनमा दश बुँदे काठमाडौँ घोषणा पत्र जारी गर्दै भाषा आयोगको प्रतिवेदन कार्यान्वयन गर्न अबिलम्ब आवश्यक कानुन बनाई राष्ट्रिय रुपमा मातृभाषा पत्रकारिताको विकासका लागि वातावरण बनाउन आग्रह गरेको हो ।
घोषणा पत्रकार वि.सं १९८२ (नेपाल संवत १०४५) बुद्ध जयन्तिका दिन शुरु भएको मातृभाषाको पत्रकारिताको आगामी २०८२ सालमा सय वर्ष पुरा हुनेहुनाले २०८२ सालको शताब्दी वर्षका रुपमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाउने निर्णय गरेको छ ।
मातृभाषाको पत्रकारिता शुरु भएको सय वर्ष पुगेको अवसरमा पहिलो मातृभाषी पत्रकार धर्मादित्य धर्माचार्यको हुलाक टिकट प्रकाशित गर्न माग गर्दै त्यसका लागि पहल गर्ने निर्णय गरेको छ ।
मातृभाषामा पत्रकारिता गर्दै आएका पत्रकारहरुको क्षमता विकासका लागि सरकारी तहबाट “धर्मादित्य मातृभाषा पत्रकारिता विकास प्रतिष्ठान” अविलम्ब गठन गर्न सम्मेलन माग गर्दै सरकारी स्तरबाट स्थापित प्रेस काउन्सिल, नेपाल विज्ञापन बोर्ड, न्यूनतम पारिश्रमिक निर्धारण समिति, लगायत सरकारी सञ्चार माध्यममा मातृभाषी पत्रकारको समेत अनिवार्य प्रतिनिधित्व हुने व्यवस्था मिलाउनसमेत सम्मेलन आग्रह गरेको छ ।
दबूका अध्यक्ष सुरजवीर वज्राचार्यका अनुसार नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठ भएको विभिन्न तथ्यहरुबाट पुष्टि भइसकेको सन्दर्भमा श्रेष्ठलाई अबिलम्ब महासंघको संस्थापक अध्यक्ष घोषणा गर्दै इतिहास, तथ्य र प्रमाणहरुको सम्मान गर्न पत्रकार महासंघ, नेपाल सरकार लगायत सम्बन्धित सरोकारवाला पक्षलाई सम्मेलन आग्रह गरेको छ ।
यसअघि काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले उद्घाटन गर्नुभएको कार्यक्रममा नेपाल भाषा पत्रकारिता बारे पत्रकार सुरेश किरण मानन्धर, थारु भाषाका पत्रकारिताबारे गोरखा पत्र दैनिकका पत्रकार लक्की चौधरी, तामाङ भाषा पत्रकारिताबारे तामाङ पत्रकार संघका वरिष्ठ उपाध्यक्ष बुद्ध योञ्जन, शेर्पा पत्रकारिता बारेमा शेर्पा सञ्चार समूहका पाशाङ शेर्पा, मैथली भाषा सम्बन्धी रुपा झाले, लिम्बु भाषा पत्रकारिता बारे लिम्बु पत्रकार संघका उपाध्यक्ष विष्णु लिुम्बुलगायतले मातृ भाषा पत्रकारिताका बारेमा आ–आफ्नो धारणा राख्नुभएको थियो ।


