काठमाडौं । नर्भिक अस्पतालमा उपचाररत् कलाकार निशा घिमिरेको निधन भएको छ ।
लामो समयदेखि उपचार गराइरहेकी उनको उपचारकै क्रममा बुधबार साँझ करिब ७ बजेतिर निधन भएको नर्भिक अस्पतालका प्रवक्ता सोमनाथ बाँस्तोलाले जानाकरी दिएका छन् ।
विभिन्न सहयोगीहरुको सहायतामा नर्भिक अस्पतालमा उपचाररत् थिइन् । पछिल्लो समय उनको मुटु र मिर्गौलाले काम गर्न छोडेको र बुधबार बिहानदेखि घिमिरेको अवस्था गम्भीर बन्दै गएको थियो ।
अक्सिजनको सपोर्टमा सिसियुमा राखेर उपचार गरिरहेको र खानेकुरा समेत पाइपबाट खुवाउने गरिएको थियो । शरीरका रहेका घाउहरू गहिरिँदै गएको थियो ।
ललिपुरस्थित घरमै गम्भीर अवस्थामा थलिएकी उनलाई नर्भिक अस्पतालले जेठ २७ गते उद्धार गरी निःशुल्क उपचार थालेको थियो । उनी सुकेर हाड र छाला मात्रै बनेकी थिइन् ।
मोडलिङ पेशा सक्रिय २३ वर्षीया घिमिरेर ३ वर्ष अघि मोडलिङसम्बन्धी डिप्लोमा कोर्ष गर्न भारतको उतराञ्चलमा पुगेको बेला सवारीसाधनले ठक्कर दिएपछि गम्भीर घाइते भएकी थिइन् ।
त्यसपछि उनलाई उद्धार गरी नेपाल ल्याई वीर अस्पतालको ट्रमा सेन्टरमा लामो समय उपचार गरेकी थिइन् । त्यसपछि चावहिलमा न्यूरोसम्बन्धी अस्पतालमा पनि उपचार गरिन् । त्यहीबेला लकडाउन शुरु भएपछि घरमै राखेर उपचार गरिरहेको बेला गम्भीर बन्दै गएपछि नर्भिकले उद्धार गरेको थियो ।
उनलाई ठक्कर दिने सवारीसाधन अझै पत्ता लाग्न सकेको छैन ।


